काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सेवा करारको म्याद थप गर्ने प्रयोजनका लागि घुस लेनदेन गरेको पुष्टि भएपछि मंगलबार वशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
नगर प्रमुख वादीले विगत आठ वर्षदेखि करारमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहको म्याद थप गरिदिएबापत एक लाख रुपियाँ घुस लिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवकता सुरेश न्यौपानेले जानकारी दिए ।
\करार सेवा थपको लागि शाहले नगर प्रमुखको बैँक खातामा उक्त रकम जम्मा गरेको भौचरसहित उजुरी दिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो ।
नगर प्रमुख वादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले बिगो एक लाख रुपैंयाँ कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ । साथै, उनी नगर प्रमुखको ओहोदामा रहेकाले ऐनको दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ ।
यसैगरी, घुस दिने असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह उपर पनि भ्रष्टाचार निवारण ऐन अनुसार बिगो एक लाख रुपौंया कायम गरी कैद र जरिवानाको सजाय माग गरिएको आयोगले जनाएको छ ।