आइतवार, श्रावण २४ गते २०८३
प्लान्ट स्थापना गर्न २ करोड रुपियाँ अनुदान

फोहर व्यवस्थापन प्लान्ट सञ्चालनमा महानगरपालिका र प्रसुति अस्पताल बिच सम्झौता

बिहिवार , चैत्र ५, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा हानीकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न २ करोड रुपियाँ अनुदान प्रदान गर्ने भएको छ । 

बिहिबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी बिच अनुदान सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानीकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्धन केन्द्रबाट उत्पादित हानीकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ ।

अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापन स्थलमा ट्रस निर्माण कार्यका लागि खर्च गर्न पाउनेछ । सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ । 

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, काठमाडौँमा हानीकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनु पर्ने अवस्था रहेको बताईन् ।

यो सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ हुन उनको भनाई छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार