काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. २७ ले असन डवलीमा ‘काव्यमय साँझ’ कार्यक्रम सम्पन्न गरेको छ । विश्व कविता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा १२ जना महिलासहित ३३ जना कवि कवियत्रीलेले सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
यसरी सिर्जना प्रस्तुत गर्नेमा प्रशासक, पूर्वप्रशासक, चिकित्सक, व्यापारीसहित ५ जना स्थानीयबासी थिए । साहित्य सिर्जना र प्रस्तुतिमार्फत सामाजिक सम्बन्धलाई जीवन्त बनाउन तथा डवली संस्कृतिलाई निरन्तरता दिँदै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कविता, गीत, गजल र नजम विधालाई नेपाली, अंग्रेजी, उर्दू, हिन्दी, संस्कृत र नेपाल भाषामा सुनाइएको थियो । कार्यक्रम समुदघाटन गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, ‘बादल’ शीर्षकको प्रेममय कविता वाचन गरेकी थिईन् ।
भावना र जीवनका सम्बन्ध केलाउँदै उनले काठमाडौँका डवलीले सांस्कृतिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा चम्किला नक्षत्र जन्माएको उल्लेख गर्दै डवली संस्कारलाई पुनर्जीवन दिने वडा २७ को प्रयत्न प्रशंसनीय रहेको बताईन् ।
रसयुक्त साहित्य सिर्जना र प्रस्तुतिले प्रदान गर्ने आनन्द अन्य कुनै क्षेत्रबाट पनि प्राप्त हुन नसक्ने भएकोले यस प्रकारको कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले बताए ।
कार्यक्रमको यो दोस्रो संस्करण हो । पहिलो संस्करण रानीपोखरी परिसरमा गरिएको थियो । । कवि तथा चलचित्र समीक्षक प्रकाश सायमीले सन् २००२ बाट विश्व कविता दिवसमार्फत कवि मनहरुलाई समाजसँग जोड्ने खुला कार्यक्रम आयोजना गरिँदै आएको बताए ।