काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगम घाटामा गएको छ ।
पश्चिम एसियाली मुलुकमा भएको यृद्धको प्रभावले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको प्रभाव नेपालमा परेको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमले पछिल्लो एक महिनामा करिब ६ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण निगमले घाटा बेहोरेको जानकारी दिए । सरकारले गाडिमा जोर–बिजोर प्रणाली लागू गर्न सके इन्धन खपत कम गर्न सकिने उनले जानकारी दिए ।
हाल निगमले काठमाडौं सहित पहाडी क्षेत्रमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १५२ रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यस्तै खाना पकाउने ग्यास भने प्रति सिलिन्डर १ हजार ९१० रुपैयाँमा बिक्री भइरहेको छ ।
निगमका अनुसार पछिल्लो समय सबैभन्दा बढी घाटा डिजेलमा भइरहेको छ । डिजेलमा प्रतिलिटर करिब ५० रुपैयाँ, पेट्रोलमा १८ रुपैयाँ र ग्यासमा २१६ रुपैयाँ नोक्सानी रहेको छ ।
निगमका अनुसार यदि जोर–बिजोर प्रणाली लागू गरियो भने पेट्रोलियम पदार्थको खपत करिब ३५ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ । यसअघि भारतले नाकाबन्दी लगाएको समयमा पनि मागअनुसार पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्दा नेपालमा केही समय जोर–बिजोर प्रणाली लागू गरिएको थियो ।
मध्यपूर्वको तनावकै कारण स्थानीय वजारमा ग्याँसको अभाव देखिदै आएको छ। भारतबाट प्रयाप्त मात्रामा ग्याँस आयात भएपनि स्थानीय वजारमा ग्याँसको अभाव नहटेपछि निगमले आधा सिलिण्डर मात्र भरेको ग्याास बिक्री गर्न थालेको थियो ।