काठमाडौं । वैदेशिक रोजगार विभागले सोमबारदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्न थालेको छ । यससँगै यसअघि टोकनको आधारमा वितरण गर्दै आएको श्रम स्वीकृति प्रणालीको अन्त्य भएको छ ।
यसमा भएको सुधारसँगै श्रम स्वीकृति लिनेहरुमा उत्साह छाएको छ । श्रममन्त्री दिपक कुमार साहको उपस्थितिमा भएको बैठकले श्रम क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
तोकिएको कागजात पेश भएको अवस्थामा सोही दिन श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने व्यवस्था गरिएको विभागले जनाएको छ ।
सरकारले चैत १३ गते ल्याएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमाथि छलफल गर्दै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित एवम् सुरक्षित बनाउन तथा श्रमिकको हकहितको संरक्षण गर्न विभिन्न कार्ययोजना बनाएर कार्यान्वयन गर्न मन्त्री साहले निर्देशन दिएका थिए ।