काठमाडौं । ट्रेडमार्क दुरुपयोग गरेको विषयलाई लिएर उद्योग विभागले सात वटा कम्पनीलाई सात दिने स्पष्टिकरण सोधेको छ ।
भारतको पारले एग्रो प्राइभेट लिमिटेडसहित ६ कम्पनीकोे ट्रेडमार्क दुरुपयोग गरेको बिषयमा स्पष्टिकरण सोधिएको विभागले जनाएको छ ।
विभागले सोमबार जारी गरेको सूचनामा ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ । साथै, तोकिएको समयभित्रमा स्पष्टिकरण प्राप्त नभएको अवस्थामा कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
विभागमा फर्मान्टल मिडिया ग्रुप मिडिया लिमिटेडले रसलाइट मिडिया प्राइभेट लिमिटेड ललितपुरविरुद्ध एक र डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज काठमाडौंविरुद्ध ट्रेडमार्क दुरुपयोगसम्बन्धी दुई वटा गरी तीन वटा उजुरी दर्ता गराएको थियो ।
त्यस्तै भारतको ईमामी लिमिटेड ग्रुप लिमिटेडले बाराको जितपुर सिमरास्थित गनपति वनस्पति लिमिटेडविरुद्ध एक, सियरा एलिमेन्टोस लिमिटेडले चितवनस्थित प्रनभ फूड प्रोसेसिङ्ग इण्डस्ट्रिजबिरुद्ध एक, स्टार टेलिभिजन प्रोडक्सन लिमिटेडले मलेसियास्थित सिम ही प्याङबिरुद्ध एक, भारतको पारले एग्रो प्राइभेट लिमिटेडले रुपन्देहीस्थित नेपाल ओदत वेभरेज प्राइभेट लिमिटेडबिरुद्ध एक र डिजनी इन्टरप्राइजेज इन्कले चितवनस्थित नौलो फूड्स इन्डस्ट्रिजबिरुद्ध एक वटा उजुरी दर्ता गराएको थियो ।