बुधवार, आश्विन १४ गते २०८३

महासंघ बागमती प्रदेशको अध्यक्षको लागि दुर्गाराज श्रेष्ठको मनोनयन

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । पुराना व्यवसायी दुर्गाराज श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षको लागि मनोनयन दर्ता गरेका छन् । श्रेष्ठले सोमबार प्यानल सहित मनोनयन दर्ता गरेका हुन् ।

उनको प्यानलबाट एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा प्रेम हरि मैनाली, जिल्ला नगर उपाध्यक्षमा कविराज खत्री र कोषाध्यक्षका उम्मेदवार जीवनकाजी माकाजु रहेका छन् । प्रदेश महासंघको साधारणसभा र निर्वाचन चैत २४ गते हुँदै छ ।

दुर्गाराज श्रेष्ठ हाल महासंघ बागमती प्रदेशको उपाध्यक्ष छन् । वस्तुगत–एसोसियट समूहबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । बागमती प्रदेश मुलुकको राजधानी काठमाडौँसमेत भएको प्रदेश हो ।  यसकारण महासंघ पश्चात महासंघका अङ्गहरुमध्ये सबैभन्दा बढी देखिने र सुनिने संरचना पनि बागमती प्रदेश नै हो । 

को हुन् श्रेष्ठ ?

दोलखाको सामान्य परिवारमा जन्मिएका दुर्गाराज श्रेष्ठ परिवारको पहिलो व्यवसायी हुन् । पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका उनी आयातका समस्या र वितरणका व्यवधान बुझेका व्यक्ति हुन् । 

आफू स्वयम् पनि डिस्टिब्यूटर र इम्पोटर रहेका श्रेष्ठसँग उद्यम व्यवसायको मात्रै होइन, संस्थागत अनुभव पनि लामो छ । हाल उनी नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको उपाध्यक्ष छन् । यो उनको दोस्रो कार्यकाल हो ।

२०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका दुर्गाराज नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए ।

उनी उद्योग वाणिज्य संघ काठमाडौँको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार