बुधवार, आश्विन १४ गते २०८३

एमाले नेता बादलप्रति सुरेन्द्र पाण्डेको कटाक्ष

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलप्रति कटाक्ष गरेका छन् ।

विहिबार संसदमा बादलले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै पाण्डेले दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको बताए । पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ ।

बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्, ‘हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै दोष अरूलाई ! हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न, हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’

उनले ‘घेराबन्दी’मा प¥यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै लेखेका छन्, ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।’

उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह गरेका छन् । भदौ २३ र २४ गतेको घटना छानबिन हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन ।’

एमालेको कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए ।

साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार