प्युठान । प्युठानको ऐरावती गाउँपालिका वडा नं. १, छेडाघाटमा गएराति भएको भीषण आगलागीबाट करिब ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीमा परी ठुलो संख्यामा पशुचौपाया समेत मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गएराति करिब ११स्४५ बजे स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सुरु भएको थियो । हावाहुरीका कारण उक्त आगो हेर्दाहेर्दै बस्तीभरि फैलिएको थियो ।
आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाडवाङबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरी अधिकारीको कमाण्डमा ३० जना प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको अथक प्रयासपछि मंगलबार बिहान ७ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।