काठमाडौं । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले परिषद्का तत्कालीन अध्यक्ष शालीग्राम सिंहसमेत ६ जना र ईशिता ट्रेडर्सविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रिषद्ले आव २०७६÷०७७ मा दुई थान बायो घुम्ती शौचालय निर्माण गरेको थियो ।
तर, शौचालय खरिद कार्यमा विनियोजित रकम खरिद ऐन विपरीत प्रतिस्पर्धा बिना सोझै खरिद गरी भ्रष्टाचार गरेको आरोप आयोगको अनुसन्धानबाट देखिएको छ ।
यस कार्यमा संलग्न रहेको आरोपमा आयोगले सिंहसहित परिषद्का तत्कालीन् कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन् प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी शर्मा ढुङ्गाना, तत्कालीन् लेखापाल साबित्रीकुमारी गिरी, तत्कालीन् खरिदार मदनकुमार चौघरी र इशिता टे«डर्स तथा सो कम्पनीका प्रोप्राइटर पशुपतिनाथ पाठकविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले प्रतिवादी सबैलाई ५५ लाख दुई हजार ८५४ रुपियाँ बिगो कायम गरि भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ ।