आइतवार, श्रावण २४ गते २०८३

लेखा अधिकृतविरुद्ध साढे दुई करोडको सम्पत्ति शुद्धीकरण मुद्दा, यसअघिको साढे ६ करोडका मुद्दा पनि यथावत

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपियाँ बिगो कायम गरेर सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा यो मुद्दा दायर गरेको हो । पौडेलविरुद्ध आयोगले यसअघि गत असार २५ गते पनि छ करोड २६ लाख ९३ हजार रुपियाँ बिगो कायम गरि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पहिलो मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा बिचाराधिन छ । सोमबार दायर गरिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पौडेलसहित सहित पाँच जनालाई प्रतिवादी बनाइएको छ ।

पौडेलले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको आयोगले जनाएको छ ।

 
साथै, उनले पदीय मर्यादा विपरीत कार्य गरी आर्जन गरेको सम्पत्तिलाई वैध देखाउन विभिन्न व्यक्तिसँग ऋण लिएको देखाउने कागजात तयार गरेका थिए । साथै, बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेको पनि अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ । 


आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको रकममध्ये दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपियाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको छ । 


पौडेललाई सोही रकम बराबर बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ । साथै, एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत माग गरिएको छ । 


उक्त कसुरमा सहयोग गरेको अभियोगमा हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी कायम गरिएको छ ।

यि प्रतिवादीलाई भने मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार