काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र एमसीसी उपाध्यक्ष फातिमा सुमारविच भेटवार्ता सकिएको छ। बिहिबार विहान काठमाडौं ओर्लिएको सुमारको टोली सबैभन्दा पहिला ओलीलाई भेट्न बालकोट पुगेको थियो।
फातिमा नायब उपाध्यक्ष जोनाथन ब्रुुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन्।त्यस्तै टोलीले भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ। नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन्। उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यसैविच एमसीसीकी उपाध्यक्ष सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। ओलीलाई भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थिए।
सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ। यता पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ।