काठमाडौं । ४ दिने नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु भन्दा सरकारको भुमिका महत्वपुर्ण हुने जवाफ दिएका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न उनको निवासमै पुगेर ओलीलाई आग्रह गरेकी थिइन्।
जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सभामुख र अन्य केही व्यक्तिको असहयोगका कारण सफल नभएको भन्दै अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले जवाफ दिएका हुन्।
ओलीले एमसीसी सम्झौताका विषयमा सरकारले आफूहरुसँग छलफल पनि नगरेको पनि भनेका थिए। बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन्।
सुमारको टोलीले भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन्।