काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान सुरु गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
विदेशमा उपचाररत रहनुभएका देउवाले एक विज्ञप्ति जारी गर्दै उक्त प्रचारलाई भ्रामक र झुट को संज्ञा दिएका हुुन । ।
विज्ञप्तिमा देउवाले आफू सार्वजनिक पदमा रहँदा प्रचलित कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सरकारी निकायमा नियमित रूपमा पेस गर्दै आएको उल्लेख गर्नुभएको छ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु, देउवाले भनेका छन,‘ नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।’
आफ्नो सिंगो जीवन लोकतान्त्रिक व्यवस्था, विधिको शासन र पारदर्शिताका लागि संघर्षमै व्यतित भएको चर्चा गर्दै उनले आफ्नो जीवनलाई खुला पुस्तकको रूपमा चित्रण गरे । देउवाले भ्रष्टाचार निवारणका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन ल्याउन नेतृत्वदायी भूमिका खेलेको स्मरण समेत गराएका छन
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहनुभएका देउवाले उपचार प्रक्रिया अझै जारी रहेको जानकारी दिए । वास्तविकता समयक्रमसँगै प्रष्ट हुँदै जाने भन्दै उनले अतिरञ्जित विवरणहरुबाट भ्रममा नपर्न आम नागरिकलाई अपिल गरे ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले देउवा परिवारको सम्पत्तिबारे सुक्ष्म अध्ययन सुरु गरेको समाचार सार्वजनिक भएपछि उनको यो प्रतिक्रिया आएको हो ।