काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
विश्व बैंक नेपाल कार्यालयले आफ्नो अर्धवार्षिक अनुमान ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ सार्वजनिक गर्दै यस्तो बताएको हो । विशेषगरी कृषि उत्पादनमा आएको कमी र खाडी मुलुकमा चर्किएको युद्धको असरले नेपालको अर्थतन्त्रमा समेत असर पारेको उसको भनाइ छ ।
यद्यपि, नयाँ सरकार गठन हुनु र आर्थिक सुधारका पक्षमा काम हुँदै जाँदा यो अवस्थामा अझ सुधार हुन सक्नेसमेत विश्व बैंकका अधिकारीहरूले जनाएका छन् । मध्यपूर्वमा जारी द्वन्द्व र भदौमा भएको आन्दोलनको प्रभाव अर्थतन्त्रमा देखिने समेत विश्व बैंकले जनाएको छ । गत आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत थियो ।
पुनर्निर्माण, जलविद्युत् विस्तार र स्थानीय तथा प्रदेश तहको निर्वाचनले आगामी आवमा भने आर्थिक वृद्धिदर ४.४ प्रतिशतसम्म पुग्ने अनुमान विश्व बैंकले गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आव दोस्रो त्रैमासमा ४.०५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । सरकारले चालु आव ६.५ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको छ ।