काठमाडौं । मन्त्रिमा नियुक्त भएकै दिनदेखि विवादमा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहको पद धरापमा परेको छ । पटक पटक विवादमा आएपछि उनलाई पार्टीले मन्त्रिको जिम्मेवारीबाट हटाउन लागेको चर्चा चलेको छ ।
पछिल्लो समय उनले श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डमा नियुक्ति दिएको चर्चा छ । यसअघि पनि विमा बोर्डको सदस्य भएर पनि लामो समयदेखि बैठकमा अनुपस्थित रहेकी उनकी श्रीमती कानुनत स्वत कारवाहीमा परेकी थिईन् ।
त्यस्तै मन्त्री साह परामर्श व्यवसायीमा संलग्न भएको समयमा पनि विवादित पात्र हुन् । उनी एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा २०७३ असोज १६ गते ठगी मुद्दामा पक्राउ परेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उनी महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
उनका विषयमा आएका विवादित विषयलाई पार्टीले अध्ययन गरिरहेको र आवश्यक परे जतिबेला पनि फिर्ता गर्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।