काठमाडौं । आधा सिलिण्डर मात्रै ग्याँस भर्ने व्यवस्थाका कारण एलपि ग्याँस बुलेटमै थन्किएको व्यवसायीले गुनासो गरेका छन् । पुरै सिलिण्डर ग्याँस भरेर बजारमा पठाउने व्यवस्था नहुँदा आफूहरु मर्कामा परेको उनीहरुको गुनासो छ ।
व्यवसायीहरुले पुरै सिलिण्डर भरेर बिक्रि वितरण गर्ने व्यवस्था गरिदिन नेपाल आयल निगमसँग माग गरेका छन् । एलपी ग्यास उद्योग संघले आधा सिलिण्डर ग्यास भरेर बजारमा पठाउँदा सिलिण्डर सबै खपत भएको र ग्यास खपत कम भएकाले फेरि पुरै सिलिण्डर भर्न अनुमति माग गरेको हो ।
संघले निगमलाई आधा सिलिण्डर भरेका कारण पछिल्लो समय निम्तिएको समस्याबारे जानकारी गराएको छ । संघका अध्यक्ष दिवान चन्दले आधा सिलिण्डर भर्नुपरेका कारण हाल सिलिण्डर सबै बजारमा गइरहेको तर ग्यास नगइरहेको भन्दै ग्यास स्टक भइरहेको जानकारी दिए ।
उनका अनुसार हाल सबै ग्यास उद्योगको करिब १२ हजार टन ग्यास स्टकमा रहेको छ। ‘१२ हजार टनजति ग्यास स्टक हुन पुगेको छ,’ उनले भने, ‘सिलिण्डर सबै बजारमा गइरहेका छन् । तर, ग्यास आधामात्रै जाने भएका कारण बुलेटमा नै स्टक गर्नुपरेको छ ।’
यसअघि निगमले फागुन २८ गतेदेखि आधा सिलिण्डर भरेर मात्रै बजारमा पठाउने निर्णय गरेर ग्यास उद्योगीलाई निर्देशन दिएको थियो । त्यसपछि व्यवसायीले आधा सिलिण्डर भरेर वितरण गर्न थालेका हुन्। त्यसअघि काठमाडौंमा माघ दोस्रो सातादेखि खाना पकाउने ग्यासको आपूर्ति असहज बनेको थियो। त्यतिबेला नेपाल ग्यास उद्योगको आन्तरिक समस्याका कारण समस्या सुरु भएको थियो ।