वुटवल । बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनाबारे अनुसन्धान गर्न ति चिकित्सकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
निन्त्रणमा लिइएका चिकित्सकहरुमा खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेती छन् ।
मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको उद्देश्य राखेर चिकित्सकले गम्भीर लापरवाही गरेको आरोप लगाई डा. खत्री र रुपाखेतीसहित पाँचजना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
दुई डाक्टर बाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेमाथि पनि अनुसन्धान र कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी परेको थियो । बस्नेत, घर्ती र पाण्डे मंगलबार बिहान नै पक्राउ परेका थिए ।
डा. खत्री र रुपाखेती भने मंगलबार बेलुका अबेर आफैं प्रहरी कार्यालय आएपछि नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।
घटना के हो ?
पाल्पाको बगनासकाली गाउँपालिका २ ख्याहाकी २९ वर्षीया गीता पाण्डे चैत २७ गते खत्री नर्सिङ होममा करिब १२ हप्ताको गर्भ जाँचका लागि आएकी थिइन् ।
त्यहाँ नर्सिङ होमका सञ्चालक डा. डिबी खत्रीले गर्भ असामान्य छ भनी थप उपचारका लागि वैशाख ४ गते बोलाएका थिए । पाण्डे वैशाख ५ गते श्रीमान् प्रकाश सहित नर्सिङ होम आएकी थिइन् ।
तर सो नर्सिङ होमले गीतालाई लोकेसन म्याप दिएर बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो ।
त्यहाँ फार्मेसीले गर्भपतनको १६ हजार शुल्क लाग्छ भन्दै २ हजार एड्भान्स लिएर दुईथरि औषधी दिएर अर्को दिन आउन भनेको थियो । जोनलबाट फेरि इन्दु लेखा क्लिनिकमा पु¥याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको थियो । ईन्दु लेखा क्लिनिकमा डा. सतिष रुपाखेतीले गीताको जाँच गरेको मृतकका पति प्रकाशले बताए ।
प्रकाशले गर्भपतन गराइएको भ्रुण आफूले नदेखेको भन्दै श्रीमती बेहोस् भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताए ।
रक्त सञ्चार सेवा केन्द्रकी जागिरे समेत रहेकी गीतालाई कुनै दीर्घ रोग नभएको र स्वस्थ रहेको पति प्रकाशको भनाइ छ । ‘पैसा कमाउने उद्देश्य राखेर उपचारमा गम्भीर लापरबाही भएको छ,’ प्रकाशले भने, ‘गीताको न्याय र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आर्थिक लाभको जालोमा जोडिएर गरिएका यस्ता घटनाको निष्पक्ष छानबिन अनि कारबाही हुनुपर्छ ।’
गीता पहिलो बच्चा (छोरा) जन्मिएको ५ वर्षपछि दोस्रोपटक आमा बन्ने तयारीमा थिइन् ।
प्रकाशले गीताको मृत्यु भएपछि जोनल फार्मेसीले खत्री नर्सिङ होमले दिएको लोकेसन कार्ड र अन्य उपचारका रिपोर्टहरू लुकाएको बताएका छन् ।