काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन् । उनी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत हुन् ।
सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउनेछन् । नेपालमा उनी चार दिन बस्ने बताइएको छ । राजदूत सर्जियोको नेपाल भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा.सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन् ।
दुई जना बिचको भेटमा राजदूत सर्जियाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटघाट गर्ने बताइएको छ । स्रोतका अनुसार सर्जियोले बालेनसँग जेठ १ गते भेट्ने कार्यतालिका छ । तर प्रधानमन्त्री कार्यालयले भने हालसम्म भेट हुने नहुने कुरा निश्चित गरेको छैन ।
प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने– ‘प्रधानमन्त्री बालेनले भारतमा रहेको अमेरिकी राजदूतसँग भेट्ने कुनै कार्यक्रम तय भएको छैन, उक्त विषयमा हालसम्म कुनै जानकारी पनि आएको छैन ।’
केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री एस.पावल कपुरले पनि प्रधानमन्त्री बालेनसँग भेट्ने सोच बनाएका थिए । तर प्रधानमन्त्री कार्यालयबाट नै समय उपलब्ध नगराएपछि भेट नभएको बताइएको छ ।
यद्यपि, ओहदामा कपुरभन्दा माथि भएका कारण सर्जियोसँग बालेनको भेटघाट हुने सम्भावना रहेको बताइएको छ । सहायक विदेश मन्त्री कपुर वैशाख ७ गते नेपाल आएर ९ गते फर्केका हुन् ।