काठमाडौं। सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन एवं सुकुमवासीहरूको स्क्रिनिङ गरिरहेको छ । शनिबार बिहानबाट नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराइएको हो। यस क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेस्क स्थापना गरी सरकारले वास्तविक सुकुमवासीको पहिचान गरिरहेको हो ।
सो क्रममा रंगशाला पुगेका सुकुमवासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेर स्वास्थ्य जाँच गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।
यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन् ।