काठमाडौँ । टिकटकर तुल्सी अधिकारी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ । सामाजिक सञ्जाल दुरुपयोग गरी एक महिला र उनको परिवारको चरित्रहत्या गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा बिहीबार अभियोग पत्र दायर गरेको हो । प्रतिवादी तुल्सी अधिकारी लुम्बिनी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल–०६ की स्थायी बासिन्दा हुन् ।
उनी हाल चीनमा रहेकी छिन् । पीडित पुरुषले दिएको जाहेरी अनुसार अधिकारीले आफ्नो टिकटक आईडी मार्फत पीडितको नाम जोडेर अत्यन्तै अश्लील, अमर्यादित र अपमानजनक सामग्रीहरू पोस्ट गरेकी थिइन् । अधिकारीले सार्वजनिक गरेका भिडिओहरूमा पीडितको मानमर्दन हुने गरी उनकी श्रीमतीलाई चौथो स्टेजको क्यान्सर लागेको भनी झुटो प्रचार गरेको अभियोगपत्रमा उल्लेख छ ।