काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले पत्र काटी निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न निर्देशन दिएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।
पत्रमा महाधिवेशन प्रतिनिधि चयन संबन्धमा छानबिन गर्न नेपाल सरकारले शुक्रबार एक अनुगमन समिति गठन गरिएको उल्लेख छ। उक्त अनुगमन समितिले आफ्नो प्रतिवेदन पेस नगरेसम्म अन्तरराष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको हो।
अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले विश्वव्यापी रुपमा संस्थापन पक्षले प्रतिनिधिहरु व्यापक हेरफेर गरेको आरोप लगाउँदै आएको छ। आचार्य निकटले धाँधलीलाई न्यायोचित रुपमा समाधान गरेर मात्र महाधिवेशन प्रकृया अगाडि बढाउन माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए। परराष्ट्रको पछिल्लो निर्देशनसँगै संघको आगामी अक्टोबर २३, २४ र २५ मा हुने १० औं महाधिवेशन अन्यौल परेको छ।