काठमाडौ । रुपन्देही जिल्लाको भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारूसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गलत लिखत तयार पारेर सरकारी कागजात सच्याएको तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार सियारी गाउँपालिका वडा नं. २ का मृतक बेलर कहारको नाममा कायम रहेको जग्गा नक्कली जग्गाधनी कायम गरी उसैको नाममा पास गरिदिएको आरोप प्रतिवादीलाई लागेको छ ।
यस कार्यमा कर्मचारीको प्रतिवादी सबैको मिलेमतो देखिएको पनि आयोगले जनाएको छ । प्रतिवादी सबैको मिलेमतोमा मृतकको हकवालाको हक मेट्न फर्जी कागज बनाएको आयोगले जनाएको छ ।
यस कार्यमा संलग्न भएको आरोपमा आयोगले तत्कालीन् प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, तत्कालीन् नासु राजु शर्मा, खरिदार अजितकुमार सहनी, वडा नं २ का तत्कालीन् वडाअध्यक्ष थारु, तत्कालीन् वडा सदस्य वृजनारायण यादव र बुद्धिराम कहारलाई प्रतिवादी बनाएको छ ।
आयोगले प्रतिवादी सबैलाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ ।