बुधवार, आश्विन १४ गते २०८३

दिपक शुलभ साइड इफेक्ट - शेयर किन्न २५ प्रतिशत रकम अनिवार्य

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । धितोपत्र बजारमा हुने अस्वाभाविक उतारचढाव र कृत्रिम डिमान्डलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले खरिदबिक्री आदेश प्रविष्ट गर्ने सीमा कार्यान्वयनमा कडाइ गरेको छ ।

हुन त नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को व्यवस्थालाई पूर्ण कार्यान्वयन गराउन मात्रै लागेको हो । तैपनि नेप्सेको बुधबारको सूचनाले शेयर बजारमा तरंग ल्याएको छ ।

बुधबार धितोपत्र कारोबार सदस्यका लागि एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को व्यवस्थालाई पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको थियो । 

पछिल्लो समय कतिपय ब्रोकरहरूले लगानीकर्ताहरूको वास्तविक कोल्याक्ट्रल रकमभन्दा धेरै गुणा बढीको खरिदबिक्री आदेश प्रविष्ट गर्न दिने र बजारमा माग उच्च देखाउनका लागि अस्थायी खरिद आदेश प्रविष्ट गरे पछि रद्द गर्ने जस्ता गतिविधि गरेको पाइएको भन्दै नेप्से यस्तो निर्देशन दिएको हो ।

नेप्सेले अबदेखि ब्रोकरहरूले लगानीकर्ताबाट खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम अनिवार्य रूपमा अग्रिम लिनुपर्ने प्रावधान कार्यान्वयन गर्न भनेको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीको विनियम ८ (१) मा भएको यो व्यवस्थालाई कडाइका साथ लागू गर्न भन्दै नेप्सेले लगानीकर्ताको कोल्याक्ट्रल सीमाभन्दा बढी रकमको खरिद वा बिक्री आदेश प्रविष्ट गराउने कार्य नगर्न निर्देशन दिएको छ ।

विशेषगरी बजारमा नकारात्मक प्रभाव पार्ने उद्देश्यले अस्वाभाविक माग देखाउने र पछि आदेश रद्द गर्ने प्रवृत्तिले बजारको स्वच्छतामा असर पुगेको नेप्सेको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार