काठमाडौं । सुकुमवासी र अव्यवस्थित बसोवासीलाई हटाउने सरकारी निर्णयप्रति विपक्षी दलले कडा आपत्ति जनाएका छन् । नागरिकको पहिचान नगरी, वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्तीमा डोजर लगाएकोमा उनीहरुले आपत्ति जनाएका हुन् ।
विहिबार बिहान बसेको कांग्रेस, एमाले र नेकपाको बैठकले यस्तो निर्णय गरेको हो । ‘यतिबेला काठमाडौं उपत्यकासमेत देशका विभिन्न स्थानमा सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको छानविन, लगत संकलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चिता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएकोप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ,’ विपक्षी दलको निर्णयमा उल्लेख छ,’हामी सरकारको यो रवैयप्रति आपत्ति र विरोध गर्दछौं । यो अवस्थामा त्यस्ता वस्तीमा बसोवास गर्ने नागरिकहरुमा व्यापक असुरक्षा, भय र त्रासको स्थिति सिर्जना भएको छ ।’
विपक्षी दललर् खासगरी बालवालिका, गर्भवती महिला, सुत्केरी, जेष्ठ नागरिक र विपन्न परिवार बढी प्रभावित भएको बताउँदै संविधानले हरेक नेपालीको आवासको हक सुनिश्चित गरेको स्मरण गराएका छन् ।