काठमाडौं। अफगानिस्ताको सत्तामा तालिबान आएसंगै महिलाहरुको शिक्षा र रोजगारी तथा सुरक्षालाई लिएर विश्वभर चिन्ता पैदा भएको छ। यहिबीचमा तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ। जसमा महिलाहरुलाई शिक्षामा प्रतिवन्ध त लगाइएको छैन, बरु शिक्षा लिनका लागी भने केही प्रतिवन्धनात्मक नीनि लिइएको छ।
पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ।
तर महिला र पुरुषहरु सँगै बसेर पढ्न पाउने छैनन्। उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको बीबीसीले जनाएको छ। तालिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने छ।
हक्कानीका अनुसार विद्यार्थीहरूलाई पढाउने विषयहरूको समीक्षा भइरहेको छ । हक्कानीका अनुसार तालिबानले वाजिब र इस्लामी पाठ्यक्रम बनाउन चाहेको छ, जुन उनिहरुको इस्लामी, राष्ट्रिय र ऐतिहासिक मूल्यअनुसार होस्। भने अर्कोतर्फ यो अन्य देशसँग प्रतिस्पर्धा गर्न पनि सक्षम होस्।
यो नयाँ नियमलाई अफगानिस्तानका नागरिकले स्वीकार गर्ने हक्कानीले विश्वास व्यक्त गरे। देशको प्राथमिक र माध्यमिक विद्यालयमा महिला र पुरुषहरुलाई अलग–अलग शिक्षा दिइने छ। अफगानिस्तानमा यो भने पहिलेदेखिकै चलन हो।