काठमाडौं। पर्सामा काठ तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ। जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित फरहदवामा सामुदायिक जंगलबाट काठ तस्करी गरी ल्याउँदै गरेका व्यक्तिहरूलाई रोकेर नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार झडप आज बिहान करिब ४ बजे भएको हो।
पर्साका डिएसपी ओम प्रकाश खनालका अनुसार तस्करी हुन लागेको सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट दुई जना सादा पोशाकका प्रहरी खटिएका थिए। प्रहरीको संख्या कम देखेर ४ जना मोटरसाइकलमा सवार भएका ८ जना तस्करको समूहले ढुंगामुढा र लाठीसहित प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले हवाई फायर गरेका थिए।
प्रहरीले आत्मरक्षाका लागि ३ राउण्ड हवाई फायर गर्दा तस्कर फरार भएको डिएसपी खनालले बताए। यद्यपी तस्कर चढेको दुइटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन सफल भएको उनले जनाए। प्रहरीले फरार तस्करको खोजी गरिरहेको जनाएको छ।