पेन्टागन । इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट आफ्नो ५ हजार सेना फिर्ता गर्ने तयारी गरेका छन् । इरान युद्धबारे जर्मन चान्सलर मर्जले अमेरिकालाई मन नपर्ने अभिव्यक्ति दिएका थिए ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले स्रोतको हवाला दिँदै लेखेको छ । यही साताको सुरूवातमा जर्मन चान्सलर मर्जले इरानसँगको वार्तामा अमेरिका अपमानित भइरहेको र वासिङ्टनको युद्ध अन्त्य गर्ने रणनीतिमाथि प्रश्न गरेका थिए ।
पेन्टागनका अनुसार सैनिक फिर्ता लैजाने प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको छ । हाल जर्मनीमा करिब ३५ हजार अमेरिकी सक्रिय सैनिक तैनाथ छन्, जुन युरोपमा सबैभन्दा ठूलो संख्या हो । अधिकारीका अनुसार यो निर्णयले युरोपमा अमेरिकी सैनिक उपस्थितिलाई सन् २०२२ अघि, अर्थात् रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि रहेको स्तरमा फर्काउनेछ ।