शुक्रवार, आश्विन १६ गते २०८३

होमस्टेमा पर्यटकको आकर्षण बढ्दै, ग्रामीण जीवनस्तरमा सुधार

शनिवार , बैशाख १९, २०८३

 
बन्दीपुुर । तनहुँको प्रसिद्ध पर्यटकीय क्षेत्र बन्दीपुरमा रहेको रामकोट सामुदायिक होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।

समुद्री सतहबाट ९५० मिटरको उचाइमा रहेको बन्दीपुर गाउँपालिका वडा नं ३ स्थित रामकोट गाउँले आफ्नो मौलिक मगर संस्कृति र अर्गानिक खानपानका माध्यमबाट पर्यटकहरूलाई आकर्षित गरिरहेको छ।
मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा कुल ९५ घरधुरी रहेका छन्, जसमध्ये ४५ घरधुरीले अहिले संगठित रूपमा होमस्टे सेवा सञ्चालन गरिरहेका छन्।  वि.स  २०७६ सालमा १४ घरधुरीबाट सुरु भएको यो होमस्टे अभियान अहिले विस्तार भई ४५ घरमा पुगेको छ।
रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले  पाहुनाहरूले शुद्ध अर्गानिक ग्रामीण जीवनको स्वाद लिन पाउने भएकाले पनि पछिल्लो समय आगमन बढ्दै गएको जानकारी दिए । 33d1e4f2-24fc-4d7c-8c88-b16b5613f6f3.jpg

पाहुनाहरूलाई गाउँमै उत्पादित अर्गानिक चामल, कोदो र तरकारी खुवाउने र बाहिरको सामाग्री भन्दा गाउँकै रैथाने बाली र उत्पादनमा हामीले बढी जोड दिएको उनको भनाई छ । 
खानपानका साथै सांस्कृतिक रूपमा पनि रामकोट निकै धनी छ। पाहुनाहरूको मनोरञ्जनका लागि मगर समुदायको मौलिक पहिचान झल्किने झ्याउरे, कौरा र चुड्का जस्ता नाचहरू प्रस्तुत गरिन्छ। विशेष गरी बेलुकाको समयमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमहरूले पर्यटकहरूलाई मन्त्रमुग्ध पार्ने गरेको छ।
गाउँको आर्थिकस्तर सुधार र संस्कृति संरक्षणका लागि सुरु गरिएको यो होमस्टेलाई आगामी दिनमा अझ बढी व्यवस्थित र सुविधायुक्त बनाउने अध्यक्ष आलेले जानकारी दिए । साथै, पर्यटन प्रवर्द्धनका लागि सञ्चारमाध्यम र सरोकारवाला निकायहरूको सहयोगको अपेक्षा गर्दै उनले पाहुनाहरूको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे । 
बन्दीपुरको बजार क्षेत्रबाट केही दूरीमा रहेको रामकोट गाउँ शान्त वातावरण र मौलिक जीवनशैलीको अनुभव गर्न चाहनेहरूका लागि एक उत्कृष्ट गन्तव्यको रूपमा विकसित हुँदै गइरहेको छ ।

16202e3d-e1ec-4e87-8205-ae7475077244.jpg

 
यस्तै तनहुँको व्यास नगरपालिकामा भर्खरै सञ्चालनमा आएको रुम्सी सामुदायिक होमस्टे आन्तरिक पर्यटकहरूको नयाँ गन्तव्य बन्न थालेको छ। नगरपालिका भित्रका १० वटा होमस्टेमध्ये सबैभन्दा कान्छो होमस्टेका रूपमा चिनिएको यस होमस्टेले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
रुम्सी सामुदायिक होमस्टेका अध्यक्ष सन्तोष थापाका अनुसार, २०८० साल माघमा दर्ता भएको यस होमस्टेले २०८१ साल असार ११ गतेबाट विधिवत् रूपमा पाहुनाहरूलाई सेवा दिन सुरु गरेको हो। मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा पाहुनाहरूलाई मगर संस्कृति, मौलिक खानपिन र आत्मीय स्वागतले लोभ्याउने गरेको छ।
न्यून शुल्कमा स्तरीय सेवा
होमस्टेले पाहुनाहरूका लागि सहुलियतपूर्ण प्याकेजको व्यवस्था गरेको छ।  १,००० रुपैयाँमा एक रातको बास, स्वागत खाजा, बेलुकाको मासुसहितको खाना ९लोकल कुखुरा वा खसी०, स्थानीय कोदोको पेय पदार्थ र बिहानको खाजा उपलब्ध गराइने अध्यक्ष थापाले जानकारी दिए । यहाँ प्रयोग गरिने नुन र मसला बाहेकका अन्य सबै खाद्य सामग्रीहरू गाउँकै प्राङ्गारिक उत्पादन हुने गरेका छन्।
सामुदायिक भावना र संस्कृति
यो होमस्टे व्यक्तिगत नभई सामुदायिक अवधारणामा आधारित छ। पाहुनाहरू आउँदा सिङ्गो समुदाय मिलेर स्वागत गर्ने, सामूहिक रूपमा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने र खानपिनको व्यवस्था गर्ने गरिन्छ। यसले गर्दा पर्यटकहरूले वास्तविक ग्रामीण र मौलिक संस्कृतिको अनुभव गर्न पाउँछन्।
चुनौती र सरकारी सहयोगको अपेक्षा
छोटो समयमै चर्चा कमाए पनि रुम्सी होमस्टेले केही पूर्वाधारजन्य समस्याहरू झेलिरहेको छ। बन्दिपुर र दमौलीबाट रुम्सी जोड्ने सडक कच्ची भएका कारण वर्षायाममा सवारी साधन आवतजावतमा निकै कठिनाइ हुने गरेको छ। त्यसैगरी, गाउँमा लिफ्टिङ खानेपानीको व्यवस्था रहेकाले पानीको लागत महँगो पर्न गएको र पर्यटन प्रवर्द्धनका लागि भ्यु टावर तथा पार्क जस्ता संरचनाको अभाव रहेको अध्यक्ष थापा बताउनुहुन्छ।
 सुन्दर झरना र प्राकृतिक दृश्यहरू छन्, तर बाटोको दुरावस्थाले गर्दा पाहुनाहरूलाई ती ठाउँसम्म पुर्‍याउन कठिन रहेको थापाको भनाई छ । 
 स्थानीय र प्रदेश सरकारले सडकको स्तरउन्नति र पर्यटन पूर्वाधारमा लगानी गरिदिए रुम्सी होमस्टेलाई गण्डकी प्रदेशकै नमुना गन्तव्य बनाउन सकिने विश्वास उनको  छ । 
अहिले मुख्यतया आन्तरिक पर्यटकहरूको आगमन भइरहेको यस होमस्टेमा आगामी दिनमा बाह्य पर्यटकहरूलाई समेत आकर्षित गर्ने लक्ष्य राखिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार