बुधवार, आश्विन १४ गते २०८३

भन्सारमा कडाइ भएपछि सुनौली क्षेत्रको नेपाली बजार फेरि चलायमान

मंगलवार , बैशाख २२, २०८३


देवदह । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमानाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग–व्यवसायहरु चलायमान बन्न थालेका छन् ।

जसका कारण नेपालतर्फका व्यवसायीहरुले खुसी पनि व्यक्त गरेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान खरिद गरी नेपाल ल्याइँदा भन्सार महसुल अनिवार्य गरिएपछि सुनौली नाका क्षेत्रको नेपालतर्फका व्यापारी एवं व्यवसायीहरुले खुसी व्यक्त गर्दै यस क्षेत्रको व्यवसायमा चलहपहल बढेको बताएका हुन् ।

यसबाट नेपालको राजस्व बढ्नुका साथै स्थानीय व्यवसायीहरुमा पनि राहत मिल्ने उनीहरुको दाबी रहेको छ । प्रायः नेपाली पसल बजार नहेर्ने गरेका स्थानीयलगायतका नागरिकहरु अब पारिबाट ल्याउनुपर्ने सामानको भन्सार अनिवार्य भएपछि नेपाली बजारतर्फ नै आकर्षित भएका हुन् ।  

यसबाट स्वदेशी बजारको प्रवद्र्धन हुनुका साथै सामान किनमेल गर्न भारत जाने प्रवृत्तिमा पनि स्वतः कमी आएको उनीहरुको अनुभव छ । साथै सानोदेखि ठूलो किनमेलका लागि पनि भारततर्फ नै पुग्ने गरिएको विगतको प्रवृत्ति यसबाट निरुत्साहित हुन पुगेको पनि व्यवसायीहरु बताउँछन् । 

यस क्षेत्रमा वारितर्फ नेपाली बजार पनि प्रसस्त मात्रामा नै रहे पनि खासै चहलपहल हुने गरेको थिएन । किनभने स्थानीय नागरिकहरु सानोतिनोदेखि ठूला सामानसम्मको किनमेल गर्न पारितर्फको बजारअर्थात् भारतीय बजार जाने भएकाले राज्यको भन्सार तथा राजस्वमा पनि गिरावट आएको थियो ।

अहिले भने केही दिनयतादेखि नेपालतर्फको बजार चलायमान हुन थालेको छ । पारिबाट ल्याइएका रु एक सयभन्दा बढीको सामानमा भन्सार लाग्ने नीतिले गर्दा उताबाट ल्याइएका सामान महङ्गो पर्न गई यतैतर्फअर्थात् नेपाली बजारमा नै किनमेल बढ्न थालेको उनीहरुको तर्क छ ।

चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले  १०० भन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार गर्नुपर्ने कार्य उद्योगी–व्यवसायीका लागि सकारात्मक भएको बताए । “हामीले सुरुदेखि नै आवाज उठाउँदै आएको विषय पनि यो हो”, उनले भने, “निरन्तर तस्करी गर्नेलाई रोक्नुपर्छ । रु एक सय बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्दा रात्रिको समयमा हुने गरेको तस्करीलाई पनि नियन्त्रण गर्नुपर्छ ।”

घरायसी प्रयोजनका नाममा दिनमा धेरैपटक ओहोरदोहार गरेर सामान ल्याउनेलाई निगरानी र कडाइ गर्नुपर्ने उहाँको भनाइ छ । अवैध रुपमा सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष रोक्काको माग छ । यसरी ओहोरदोहोर गर्ने कतिपय मानिसहरुको काम नै उताबाट सामान सार्ने हुने गरेको छ । यसबाट नेपाली बजारमा हुने किनबेचमा ह्रास आउने मात्र नभएर अर्कातर्फ नेपालले प्राप्त गर्ने भन्सारमा पनि कमी आउने गरेको छ । साथै यसले नेपालतर्फका सानादेखि ठूला सम्मका पसल व्यवसाय सञ्चालन गर्ने व्यवसायीले पनि व्यवसायलाई निरन्तरता दिन नसकेको अवस्था पनि निकै लामो समयदेखि रही आएको छ ।  

प्रतिक्रिया
सम्बन्धित समाचार