काठमाडौं। एकीकृत समाजवादीको सांसद पद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा सुनुवाइ हुँदै छ। निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए।
सर्वोच्च अदालतले सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो। २७ भदौमा न्यायाधीश मिरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो।
आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारवाही नगर्न एमालेलाई आदेश गरिएको थियो। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो।