काठमाडौँ । नेपालमा पछिल्लो केही दिनदेखि सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण देशका विभिन्न भागमा भइरहेको वर्षाको क्रम अझै केही दिन जारी रहने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली पूर्ण रूपमा हट्न अझै केही समय लाग्नेछ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली सँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । यसले गर्दा विशेषगरी पहाडी भू–भागमा अपराह्न र साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ । मौसमविद्हरूका अनुसार यो प्रणाली आगामी ३ देखि ४ दिनसम्म कायमै रहने सम्भावना छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मध्यम वर्षाको सम्भावना बढी छ । आगामी हप्ताको मध्यदेखि मात्रै मौसममा क्रमिक सुधार आउने र आकाश खुल्ने अनुमान गरिएको छ ।
वर्षा र चट्याङको जोखिमलाई मध्यनजर गर्दै मौसम विभागले सर्वसाधारणलाइ सावधानी अपनाउन आग्रह गरेको छ । “मेघगर्जन र चट्याङ पर्ने समयमा सुरक्षित ओत लाग्न, खुला चौर वा रुखमुनि नबस्न र हावाहुरीको समयमा कमजोर संरचनाबाट टाढा रहन हामी अनुरोध गर्दछौँ । विशेषगरी कृषि कार्यमा संलग्न किसानहरूले भित्र्याउने बेला भएको बालीको सुरक्षामा ध्यान दिनुहोला ।“
यद्यपि यो प्रि–मनसुन सिजन भएकोले मौसम छिनछिनमा परिवर्तन भइरहने प्रकृति हुन्छ । त्यसैले, लामो यात्रामा निस्कनु अघि वा बाहिरी काम तय गर्नु अघि पछिल्लो मौसम बुलेटिन नियमित रूपमा हेर्नु बुद्धिमानी हुनेछ ।