म्याग्दी । धवलागिरि हिमालमा मानव पाइला परेको आज ६६ वर्ष पूरा भएको छ ।
आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । संसारको सातौँ अग्लो धवलागिरि हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलोपटक मङ्गलबारदेखि आरोहण दिवस मनाउन थालिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।
“पहुँच र पहलको कमीले यसअघिका धवलागिरि आरोहण दिवस पोखरा र काठमाडौँमा मनाउने गरिएको थियो”, उनले भने, “धवलागिरि हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित स्थानमा आरोहण दिवस आयोजना गरिएको हो ।”
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालयको सहयोगमा मुदीमा दिवस आयोजना गरेको हो ।
गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमाल, प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली लगायत अतिथिहरूलाई स्थानीयवासीले बाजागाजासहित स्वागत गरेका थिए ।
मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीका अनुसार गाउँपालिकाको केन्द्र मुनासम्म गाडीबाट पुगेका अतिथिहरू त्यहाँदेखि पदयात्रा गरेर मुदी पुगेका थिए । उनले सम्बन्धित भूगोलमै धवलागिरि आरोहण दिवस मनाउन पाउँदा स्थानीयवासी खुसी भएको बताए ।
आरोहण दिवसका अवसरमा बुधबार मुदीमा धवलागिरि आरोहीहरूलाई सम्मान तथा अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए । “धवलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त पनि मानिन्छ”, उनले भने, “यहाँको भूवनोट र हावापानी अनौठो किसिमको छ, आधा–आधा घण्टामा मौसम बदलिइरहने भएकाले धवलागिरि आरोहणलाई साहसिक मानिन्छ ।”
यस याममा धवलागिरि आरोहणबाट सरकारले एक करोड ३४ लाख ५४ हजार ५५० रुपैयाँ सलामी दस्तुर सङ्कलन गरेको छ । पर्यटन विभागकी निर्देशक निशा थापा राउतका अनुसार चार समूहका १८ पुरुष र १२ महिला गरी ३० जनाले आरोहण अनुमति लिएका छन् ।
अघिल्लो याममा ३६ जनाले अनुमति लिएका थिए । पर्यटन विभागको अभिलेखअनुसार ६६ वर्षको अवधिमा सात सयभन्दा बढीले धवलागिरि हिमाल आरोहण गरिसकेका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले धवलागिरि हिमाललाई पर्यटकीय रूपमा अपेक्षित उपयोग गर्न नसकिएको भन्दै सरोकारवाला गम्भीर बन्नुपर्ने बताए । उनका अनुसार हिमालसँग जोडिएका गाउँहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ६६औँ धवलागिरि दिवस मुदी गाउँमा आयोजना गरिएको हो । उनले धवलागिरि चक्रीय पदमार्गको प्रवर्द्धन र पदयात्रामा आकर्षण बढाउनुपर्नेमा जोड दिए । रासस