खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटका अस्थायी बेलिब्रिज झिकिएपछि खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तर वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेपछि फरक–फरक सडकखण्डमा रहेका यी अस्थायी बेलिब्रिज हटाइएको हो ।
पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुई नाकामा जडान गरिएका बेलिब्रिज हटाइएपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने र वर्षायाम सुरु भएपछि पुनः खोल्ने व्यवस्था गरिएको थियो ।
मौसम परिवर्तनसँगै लगातारको वर्षाले सुनकोशीमा पानीको सतह बढेपछि गत वैशाख २७ गतेदेखि बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले बताएका छन् । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सहजता दिएको थियो । तर बेलिब्रिज हटाइएपछि करिब छ महिनासम्म झोलुङ्गे पुलमार्फत यात्रा गर्नुपर्ने बाध्यता फेरि दोहोरिएको स्थानीय युवराज मगरले बताएका छन् ।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु १ करोड ८७ लाख बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो । बेलिब्रिज जडानको ठेक्का गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित रु ५७ लाखमा लिएको थियो ।
बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी कालिका–वेदांसी जेभीसँग सम्झौता गरिएको छ । विसं २०७९ मङ्सिर १ गते सम्झौता भएर सुरु भएको पुल निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको स्थानीयको आरोप छ ।
यस्तै, फोक्सिङटारको अस्थायी बेलिब्रिज जेठ ३ गतेदेखि पूर्ण रूपमा यातायात बन्द गरेर निकाल्न सुरु गरिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताएका छन् । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ उदयपुरले लिएको थियो । उक्त कम्पनीले मूल्य अभिवृद्धि करसहित रु ९६ लाख ७७ हजार ९३७ मा जडान र हटाउने जिम्मा लिएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो । निर्माण सम्पन्न भएर सञ्चालनमा आएको एक वर्ष नपुग्दै पुल बाढीले बगाएपछि स्थानीय फेरि अस्थायी बेलिब्रिजकै भर पर्न बाध्य भएका छन् ।