काठमाडौँ । नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा नयाँ कीर्तिमान बनाएका छन् ।
पर्यटन विभागका अनुसार कामिरिताले (पुरुषतर्फ) ३२ औँ पटक र लाक्पाले (महिलातर्फ) ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका हुन् ।
पर्यटन विभागका अनुसार कामिरिताले आइतबार बिहान १०ः१२ बजे र लाक्पाले ९ः३० बजे सर्वोच्च शिखरको चुचुरोमा पाइला टेकेका हुन् । सन् १९७० जनवरी १७ मा सोलुखुम्बुको थामेमा जन्मेका कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा चढेका थिए ।
पछिल्ला हरेक वर्ष जस्तो चुचुरोमा पुग्दै आएका उनी गतवर्षको यही यामको आरोहण अन्तर्गत २०८२ जेठ १३ गते ३१ औँ पटक सर्वोच्च शिखरमा पुगेका थिए । त्यसअघि विसं २०८१ मा दुई पटक अर्थात् २९ औँ र ३० औँ सफल आरोहण गरेका थिए । त्यस्तै सन् १९७३ मा सङ्खुवासभा मकालु–२ मा जन्मिएकी लाक्पाको कीर्तिमानले नेपालको पर्वतारोहण इतिहासमा नयाँ इँटा थपेको छ ।
यसअघि सन् २०२२ मा १० औँ पटक सगरमाथा आरोहण गरेकी उनले यस वर्ष आफ्नै कीर्तिमान तोडेकी हुन् ।