काठमाडौं । पछिल्लो ७३ वर्षमा ७०४ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्यटन विभागका ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२५’ अनुसार पछिल्लो एक दशकमा मात्रै ४२५ महिलाले सगरमाथामा आफ्नो साहस प्रदर्शन गरिसकेका छन् ।
सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको पनि ७३ वर्ष भएको छ । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो मानवपाइला सगरमाथामा टेकेका थिए । तर पनि महिला आरोहीको पाइला पुग्न भने अर्को २२ वर्ष पर्खनु परेको थियो ।
सन् १९७५ मे १६ मा जापानी आरोही जुन्को ताबेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोही बनेकाृ १८ वर्षपछि सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखरमा पुगेर पासाङ ल्हामु शेर्पा पहिलो नेपाली महिला आरोही बनेकी थिइन । तर दुर्भाग्यवश शिखरबाट फर्किने क्रममा उनको निधन भएको थियो ।
विभागको तथ्याङ्क अनुसार सन् २०१६ मा ४४ जना महिलाले सगरमाथा आरोहण पूरा गरेका थिए । सन् २०१५ मा भूकम्पका कारण एक जनाले पनि सगरमाथा चढेनन् । आरोहण याम नै प्रभावित हुन पुगेको उक्त वर्ष सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए । जुन सगरमाथा इतिहासकै एक दुःखद घटना मानिन्छ ।
त्यस्तै गरी सन् २०१६ मा ४४ जना, सन् २०१७ मा ३३ जना, सन् २०१८ मा ५१ जना, सन् २०१९ मा ६५ जना महिला आरोहीले सगरमाथा शिखर चुमेका थिए । सन् २०२० मा विश्वभर फैलिएको कोरोना महामारीका कारण आरोहण बन्द हुँदा एक जनाले पनि सगरमाथा चढेनन् । सन् २०२१ मा ४४ जना, २०२२ मा ६९ जना, २०२३ मा ६६ जना र २०२४ मा ६३ जना महिलाले सगरमाथामा पाइला टेकेका छन् ।