आइतवार, श्रावण २४ गते २०८३

काठमाडौं महानगरले आठ ठाउँमा राख्यो सेरेना जातका माहुरी

बुधवार , जेठ ६, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो ।

यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरुले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् । यी मौरीका घारहरु महानगरपालिकाले नमूना कार्यक्रमका रुपमा राखेको होे ।

यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् ।  कार्यक्रमको पहिलो चरणमा शंखधर उद्यान (रत्नपार्क)मा २ घार, वडा नं. ३ को रानीवारी सामुदायिक बन भित्र ४ घार, वडा नं. १६ को वालाजु वाइसधारा उद्यान भित्र ५ घार, यही वडाको गुरु नानक पार्कमा २ घार, वडा नं. ४ को शंखपार्कमा २ घार, वडा नं. ६ को लाखे पोखरी पार्कमा २ घार मौरी राखिएका छन् । यस्तै वडा नं. १४ को भुवनेश्वरी पार्कमा ४ घार र वडा नं. ३२ को मदन भण्डारी पार्कमा २ घार राखिएको आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।  

इञ्जिनियर श्रेष्ठका अनुसार एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन् । यो भन्दा धेरै संख्यामा माहुरी भए भने छुट्टै रानी मौरी बनाएर समूह विभाजन गरेर बस्छन् । घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै श्रैष्ठले पार्कमा रैथाने विरुवा र फूल रोप्ने कामलाई बढाउने, विरुवामा प्राकृतिक मल राख्ने, विरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादिको प्रयोग रोक्ने योजना रहेको बताए ।  

वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै संकटमा पर्न सक्छन् । फूलहरुको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ । 

एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाहरूको प्रजनन प्रक्रियामा मौरीको ठुलो भूमिका हुन्छ । संसारका लगभग ८०५ भन्दा बढी फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा बढी खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् । मौरीको यही भूमिकाले फलफुल, बालीनाली र वनजंगलको विकास तथा विस्तार स्वभाविक र स्वचालित रुपमा भइरहेको हुन्छ । 

वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाडौँ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो । 

प्रतिक्रिया
सम्बन्धित समाचार