काठमाडौं । मुलुकका विभिन्न आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबै भन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदको लागि परेको छ । मन्त्रालयले बुधबार आवेदकहरुको नामावली सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालयका लागि परेको छ, जहाँ ५० जनाले इच्छा देखाएका छन् । यसैगरी पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका लागि समान ३८–३८ जनाको आवेदन परेको छ ।
राजर्षि जनक विश्वविद्यालयका लागि २७, मध्यपश्चिम विश्वविद्यालयका लागि २० र सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जनाको आवेदन दर्ता भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति बन्न ११ जनाले आवेदन दिएका छन् ।
अध्यादेशमार्फत साबिकका उपकुलपति तथा अन्य पदाधिकारीहरू पदमुक्त भएपछि सरकारले उपकुलपति नियुक्तिको लागि नयाँ प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले गत २५ वैशाखमा १० दिनको समय दिएर नयाँ उपकुलपति चयनका लागि खुला आह्वान गरेको थियो ।
उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको छ । समितिले अब विज्ञ उपसमिति बनाएर उम्मेदवारहरूको मूल्यांकन गर्नेछ । यसपटक नयाँ कार्यविधि जारी गरी नियुक्तिको आधार तय गरिएको छ, जसमा उम्मेदवारहरूको योग्यता र रणनीतिक योजनालाई विशेष जोड दिइएको छ ।
छनोटका लागि जारी नयाँ कार्यविधिअनुसार कुल १०० पूर्णाङ्कको मूल्यांकन प्रणाली तयार गरिएको छ। विज्ञ उपसमितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुसन्धान अनुभव, प्रकाशित पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई अंक दिनेछ । मूल्यांकनमा कुनै पनि उम्मेदवारलाई अत्यधिक धेरै वा निकै कम अंक दिइएमा त्यसको स्पष्ट कारण खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूले सम्बन्धित विश्वविद्यालयको सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र शैक्षिक गुणस्तर वृद्धिका विषय समेटिएको ५ हजार शब्दको रणनीतिक दृष्टिपत्र (भिजन पेपर) र कार्ययोजना (एक्सन प्लान) बुझाउनुपर्नेछ ।
विज्ञ उपसमितिले यसको अध्ययन र प्रारम्भिक मूल्यांकन गरी सबैभन्दा उच्च अंक ल्याउने १० जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्नेछ। त्यसपछि उम्मेदवारहरूबारे सर्वसाधारणको राय–सुझाव संकलन गरिनेछ र अन्तिममा प्रस्तुतीकरण तथा अन्तर्वार्ताको माध्यमबाट नाम सिफारिस गरिनेछ ।
यो पटक उपकुलपति बन्नका लागि कडा मापदण्ड तोकिएको छ । उम्मेदवारको न्यूनतम उमेर ४० वर्ष पूरा भएको हुनुपर्नेछ भने विद्यावारिधि (पीएचडी) उपाधि अनिवार्य गरिएको छ। यसका साथै कम्तीमा १० वर्षको अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र र राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ । उम्मेदवारले आफ्ना लेख–रचनामा बौद्धिक चोरी (प्लेजरिजम) नगरेको स्वघोषणा समेत गर्नुपर्ने व्यवस्था छ ।