मुस्ताङ। कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम–कागबेनी सडकखण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौताअनुसार करिब रु सात करोड लागतमा नौ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढाएको हो ।
राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भएको जोमसोम–कोरला सडकखण्डमध्ये जोमसोम–कागबेनी कालोपत्र सडक वर्षा र पहिरोका कारण क्षतिग्रस्त भएपछि स्तरोन्नति थालिएको आयोजना कार्यालयले जनाएको छ । गत वर्षको साउनमा केही स्थानमा सडक भाँसिएको थियो भने कतिपय स्थानमा ड्रेन र सडक संरक्षण संरचना नबन्दा क्षति पुगेको थियो ।
आयोजनाका प्रमुख तेजस्वी शर्माले कोरला नाका र मुक्तिनाथ जोड्ने सडकलाई दीर्घकालीन बनाउन संरक्षण तथा स्तरोन्नतिको काम सुरु गरिएको बताए । उनका अनुसार कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरी काम अघि बढाएको हो ।
निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाले वैशाखमा सम्झौता भएको यो परियोजनाको काम जेठको पहिलो सातादेखि सुरु गरिएको जानकारी दिए । चार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने भदौ १५ गतेसम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने सम्झौता रहेको उनले बताए ।
आयोजना कार्यालयका अनुसार सडक स्तरोन्नतिअन्तर्गत एक हजार ८०० घनमिटर ग्याविन वाल, तीन हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट तथा ९०० घनमिटर आरसिसी ढलान निर्माण गरिनेछ ।
जोमसोमबाट माथि एक किलोमिटर क्षेत्रमा वर्षाले सडक भासिएकाले त्यहाँ ग्याविन वाल निर्माण गरिनेछ । त्यस्तै पान्डाखोला पुलको उत्तरतर्फ आरसिसी ढलान गरिने र आवश्यक स्थानमा ड्रेन तथा प्रोटेक्सन वाल निर्माण गरिने इञ्चार्ज थापाले जानकारी दिए ।