काठमाडौं । बुधबार एकै दिन कीर्तिमानी २७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । एक पर्वतारोहण अधिकारीका अनुसार, नेपालतर्फबाट विश्वको सर्वोच्च शिखरमा एकै दिन पुग्ने यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो ।
८,८४९ मिटर अग्लो सगरमाथा नेपाल र चीनको तिब्बत क्षेत्रको सिमानामा अवस्थित छ र यसको आरोहण दुवैतर्फबाट गर्न सकिन्छ । अभियान सञ्चालकहरूका अनुसार, चिनियाँ अधिकारीहरूले कुनै पनि अनुमति जारी नगरेका कारण यस वर्ष तिब्बततर्फबाट कुनै पनि आरोही गएका छैनन् ।
नेपाल पर्वतारोहण सञ्चालक सङ्घका महासचिव ऋषि भण्डारीले बिहीबार जानकारी दिएअनुसार, नेपालबाट यसअघि एकै दिनमा सबैभन्दा धेरै २२३ जनाले आरोहण गरेको कीर्तिमान सन् २०१९ को मे २२ मा कायम भएको थियो ।
गिनिज वल्र्ड रेकड्र्सका अनुसार, दुवैतर्फबाट सगरमाथाको चुचुरोमा पुग्ने मानिसहरूको सर्वाधिक सङ्ख्याको कीर्तिमान त्यसको भोलिपल्ट अर्थात् सन् २०१९ को मे २३ मा कायम भएको थियो । त्यतिबेला ३५४ जनाले सफल आरोहण गरेका थिए ।