काठमाडौं । अमेरिकाले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ सम्बन्धी प्रक्रिया परिवर्तन गरेको छ ।
डोनाल्ड ट्रम्प प्रशाससनको यस निर्णयपछि अस्थायी भिसामा अमेरिका बसिरहेका र देशभित्रैबाट ग्रीन कार्ड प्रक्रियामा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष असर पर्ने देखिएको छ ।
अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार, नयाँ नीतिले आवेदकहरूले अमेरिकाभित्रैबाट आफ्नो कानुनी स्थिति परिवर्तन गर्ने सुविधा सीमित गरेको छ ।
यसका कारण धेरै व्यक्तिले आफ्नो प्रक्रिया पूरा गर्न अमेरिका छाडेर आफ्नै देश वा तेस्रो देशस्थित अमेरिकी दूतावासमा गएर पुनः आवेदन दिनुपर्ने हुन सक्छ ।
तर, अमेरिका छाडेपछि पुनः प्रवेश अनुमति नपाउने जोखिम पनि धेरै आवेदकमा रहन्छ । आप्रवासन कानुन विशेषज्ञहरूले यसले हजारौं परिवार, विद्यार्थी, कामदार र पेशेवरलाई अनिश्चिततामा धकेल्ने बताएका छन् ।
सीएनएनले उद्धृत गरेका केही वकिल र अधिकारकर्मीहरूले नयाँ व्यवस्थाले “आत्मनिर्वासन” जस्तै अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन् ।