काठमाडौ । धादिङको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध स्थल सल्यान्टारस्थित नृसिंहधाममा विशेष महामेला भव्य रूपमा सञ्चालन भएको छ ।
धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गइरहेको यस धाममा हरेक तीन तीन वर्षमा आउने पुरुषोतम महिनाको अवसरमा पूजाअर्चना र दर्शनका लागि देशका विभिन्न जिल्लाका साथै छिमेकी देशहरूबाट समेत हजारौँ भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
नृसिंह भगवानको विशेष पूजाआराधना गरिने यस क्षेत्रमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको भए पनि यस पटकको महामेलालाई थप व्यवस्थित र बृहत् बनाइएको स्थानीय आयोजक समितिले जनाएको छ ।
सल्यान्टारको मध्यभागमा अवस्थित नृसिंहधामलाई यस क्षेत्रकै एक पवित्र सनातन धरोहर मानिन्छ । महामेलाका अवसरमा धाममा विशेष हवन, श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, चौबीसै घण्टे अखण्ड भजनकीर्तन तथा विशेष महाआरतिको आयोजना गरिएको छ ।
धामका मूल पूजारीका अनुसार, नृसिंह अवतारको पूजा गर्नाले विघ्नबाधा हट्ने, संकट नाश हुने र पारिवारिक सुखशान्ति मिल्ने जनविश्वास रहेकाले विशेष गरी यस अवसरमा यहाँ टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गर्दछन् ।
“सल्यान्टारको ऐतिहासिक पहिचानलाई धार्मिक पर्यटनसँग जोड्न यो महामेला कोसेढुङ्गा सावित भएको छ । हामीले अनुमान गरेभन्दा बढी भक्तजनहरूको आगमनले यस क्षेत्रको समग्र विकास र प्रचारप्रसारमा नयाँ उत्साह थपेको छ ।“
महामेला केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नभई स्थानीय आर्थिक गतिविधि बढाउन समेत निकै फलदायी देखिएको छ । मेला परिसरमा स्थानीय कृषि उपज, हस्तकलाका सामग्री, धार्मिक पुस्तक तथा परम्परागत खानेकुराका सयौँ स्टलहरू राखिएका छन् । सल्यान्टार वरपर उत्पादित रैथाने दलहन (विशेषगरी मास र बोडी) तथा घरेलु उत्पादनहरूको व्यापारमा उच्च वृद्धि भएको छ ।
साथै मेलाका कारण स्थानीय होटल, यातायात क्षेत्र र साना व्यवसायीहरूले राम्रो आम्दानी गर्ने अवसर पाएका छन् ।मेलालाई थप आकर्षक बनाउन स्थानीय पञ्चेबाजा, झाँकी, विभिन्न जातजातिका परम्परागत नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू समेत प्रदर्शन गरिएको छ ।
हजारौँको संख्यामा उपस्थित जनसागरलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई निकै चुस्त बनाइएको छ । नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीय क्लबका स्वयंसेवकहरू चौबीसै घण्टा परिचालन गरिएका छन् । भक्तजनहरूको सहजताका लागि निःशुल्क खानेपानी, प्राथमिक स्वास्थ्य शिविर र यातायातको उचित प्रबन्ध मिलाइएको छ ।
भौतिक पूर्वाधारका हिसाबले अझै केही सुधार गर्नुपर्ने आवश्यकता देखिए पनि स्थानीय सरकार र समुदायको संयुक्त प्रयासमा सम्पन्न भइरहेको यो महामेलाले सल्यान्टारलाई राष्ट्रिय स्तरमै एक प्रमुख धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न ठूलो मद्दत पु¥याएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।