काभ्रेपलाञ्चोक। जापानको सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्ले–बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण आजदेखि सुरु गरिएको छ ।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन् ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा तीन दशमलव दुई किलोमिटर सडकखण्ड पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार २०८१ असोज १२ गतेको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीका करिब ३० किलोमिटर सडकखण्डमा क्षति पुगेको थियो ।
पिप्ले–बर्खेखोला सडकखण्ड निर्माणको जिम्मा जापानस्थित सिमिजु कर्पोरेसनले लिएको छ । योगेशका अनुसार जापानले दुई अर्ब ८० करोड येन अनुदान दिनेगरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य सुरु गरिएको हो ।
यसअघि जाइका टोलीले क्याम्प निर्माण, अस्थायी बाटो बनाउनेलगायत पूर्वतयारीका काम गरिसकेको थियो । हाल बिपी राजमार्गका क्षतिग्रस्त चार खण्डमा पुनर्निर्माण कार्य भइरहेको छ ।
योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीन सडकखण्डमा हालसम्म करिब २५ प्रतिशत काम सम्पन्न भएको छ । २०८१ असोजको बाढीपहिरो र २०८२ को वर्षाले थप क्षति पुर्याएपछि गत मङ्सिरदेखि स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो ।
क्षतिग्रस्त क्षेत्रमा आरसिसी पर्खाल निर्माण भइरहेको छ । चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउने तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि आरसिसी पर्खाल निर्माण सुरु गरिएको उनले बताए ।
यस्तै, डालाबेँसी, मङ्गलटार खण्ड तथा चारसयबेँसीदेखि नार्केसम्म सडक चौडा बनाउने काम पनि भइरहेको छ । बाढीले पूर्ण रूपमा बगाएका स्थानमा भविष्यमा क्षति नहुने संरचना निर्माण गर्ने गरी डिजाइन गरिएको जनाइएको छ ।
यस वर्ष संरचना निर्माण र सडक चौडा गर्ने काम सम्पन्न गर्ने तथा आगामी वर्ष बाँकी स्थानमा कालोपत्रसहित अन्य कामलाई तीव्रता दिइने योगेशले बताए । पुनर्निर्माणसँगै राजमार्गलाई दुई लेनमा स्तरोन्नति गरिनेछ ।
“पुनर्निर्माण हुने सडकखण्ड दुई लेनको हुनेछ । पुराना पुलसँगै नयाँ पुल निर्माण गरेर पुलहरूलाई पनि दुई लेनमा विस्तार गरिनेछ,” उनले भने । पाँच वटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीलाई एक अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का दिइएको छ ।
त्यसैगरी, चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म ११ दशमलव ०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँ तथा नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किलोमिटर सडक पुनर्निर्माणका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ६१ करोड रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता गरिएको छ ।
जाइकाले निर्माण गर्ने खण्डबाहेक अन्य सडकखण्डमा सरकारले गत असोजअघि नै ठेक्का प्रक्रिया पूरा गरिसकेको थियो । क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किलोमिटर) निर्माण सुरु गरिएको थियो । विभिन्न खण्डमा निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जापान सरकारले उक्त राजमार्ग नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो ।