काठमाडौं। तालिबानका नेता तथा सहसंस्थापक मुल्लाह अब्दुल घानी बारदारसन् २०२१ को प्रभावशाली सय व्यक्तिको सूचीमा परेका छन्। अमेरिकी पत्रिका टाइम म्यागजिनले तालिबान समूहका सहसंस्थापक मुल्लाहलाइ सन् २०२१ का प्रभावशाली सय व्यक्तिको सूचीमा राखेको हो।
तालिबानहरूले फेरि अफगानिस्तानको सत्ता कब्जा गरेपछि बारदारलाई अन्तरिम सरकारको उपप्रधानमन्त्री नियुक्त गरिएको छ। पछिल्लो समय तालिबानले काबुल कब्जा गर्दा रक्तपातविहीन भएको र असरफ घानी सरकारका अधिकारीहरूलाई आममाफी दिने निर्णयमा बारदारको भूमिका रहेको टाइमले जनाएको छ।
अतिवादी समूह तालिबानमा बारदार नरम खालका भएको र उनले आगामी दिनमा विदेशी सहायता र अन्तर्राष्ट्रिय सहकार्यमा अफगानिस्तानका लागि मूख्य भूमिका निर्वाह गर्न सक्ने टाइमले उल्लेख गरेको छ।
बारदारसँगै अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलगायत नेताहरू पनि सूचीमा छन्।