पोखरा । अरू दिनभन्दा बुधबार पोखराको हङकङ बजारछेउको दृश्य भिन्न थियो । किनमेलले भीडभाड हुने पसलका सटर सुनसान देखिन्थे । व्यवसायीहरू सामान पोकापुन्तुरा पारिरहेका थिए । कोही गाडीमा सामान चढाउँदै थिए । हतारहतार सटर खाली गर्दा भुइँ र सडकछेउ पसलको फोहर असरल्ल देखिन्थ्यो ।
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायीले धमाधम सटर खाली गरेका हुन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण गरी बनाइएका भवनमा बिहीबार डोजर लगाउने महानगरको तयारी छ ।
त्यहाँ रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइने महानगरपालिकाले जनाएको छ । महानगरले डोजर लगाएर हटाउने भएपछि ती संस्थाले केही दिनअघि नै भवन खाली गरेका थिए ।
महानगर प्रमुख धनराज आचार्यले जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर त्यस क्षेत्रमा दुई लेनको सडक बनाइने बताए । राजनीतिक संरक्षणका आडमा ती भवनलाई भाडामा लगाएर सीमित संस्थाले गैरकानुनी रूपमा आर्थिक आर्जन गर्दै आएका थिए । महानगरपालिकाले आयोजना गरेको सर्वदलीयरसर्वपक्षीय छलफलपछि राजनीतिक दलका भ्रातृ संस्थालगायतले भवन खाली गर्न राजी भएका थिए ।
महानगर र उपत्यका नगर विकास समितिले गत वैशाख पहिलो साता सूचना जारी गरी अतिक्रमित संरचना खाली गराउन निर्देशन दिएको थियो । उक्त सूचनाको म्याद सकिएपछि बिहीबार संरचना हटाउन लागिएको हो । त्यस क्षेत्रमा फेन्सी व्यवसाय गर्दै आएका रामचन्द्र पोखरेलले महानगरको अभियानमा सघाउन व्यवसायीहरूले आफैँ सटर खाली गरेको बताए ।
‘हामीले भाडा तिरर बसेका हौँ, महानगरले भवन नै हटाउने भएपछि हामीले अर्को विकल्प खोज्नुपर्ने भयो’, उनले भने ।
वर्षौँदेखि व्यवसाय गर्दै आएको ठाउँ छाड्नुपर्दा व्यवसायीहरूलाई मर्का भने परेको पोखरेलले बताउनुभयो । यसकै कारण कतिपय व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना पनि हटाउने तयारी गरेको छ । यही जेठ १० गते पोखरा उपत्यका नगर विकास समितिले सूचना जारी गरी १५ दिनभित्र त्यस्ता संरचना खाली गर्न निर्देशन दिएको हो ।
समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सघाउन सूचित गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुलउपर गरिने जनाइएको छ ।
समितिले बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनीहरूलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आवको सम्पत्तिरभूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसमेत दिएको छ ।