बिहिवार, आश्विन १५ गते २०८३

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा र हुरीको सम्भावना

बिहिवार , जेठ १४, २०८३

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसकै प्रभावका कारण बुधबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा हुरीसहित हल्का वर्षा भएको थियो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहने सम्भावना छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागसहित बाँकी तराईका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार