म्याग्दी । विश्वको पहिलो सफल आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको इतिहास बोकेको अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा अवस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिज हर्जोग र लुई लचेनलको टोलीले गरेको थियो।
अन्नपूर्ण प्रथमको आधार शिविर म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ क्षेत्रमा पर्छ। आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये मानव पाइला पुगेको पहिलो हिमाल भएकाले अन्नपूर्णलाई ‘जेठो हिमाल’का रूपमा चिनिन्छ। अन्नपूर्णको सफल आरोहण भएको तीन वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो।
अन्नपूर्ण आरोहणले नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रको विकासमा ऐतिहासिक योगदान पुर्याएको स्मरण गर्दै बुधबार विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाइँदै छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार यस अवसरमा पर्यटन प्रवर्द्धन र पर्वतारोहण इतिहासको सम्मानस्वरूप विविध कार्यक्रम आयोजना गरिएको हो।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुक क्षेत्रको आधार शिविरतर्फ दौड प्रतियोगिता आयोजना गरेको छ भने नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा पनि विशेष कार्यक्रम सञ्चालन गरिएको छ।
पर्यटन विभागका अनुसार गत वर्षसम्म अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गर्नेको संख्या ५३६ पुगेको छ। यस वर्षको वसन्त ऋतुमा चार समूहका २७ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका थिए। तीमध्ये कति जनाले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागले जनाएको छ।
दिवसका अवसरमा आधार शिविरदेखि नारच्याङसम्मको ३६ किलोमिटर दूरीमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ। अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दौड, सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहमार्फत दिवसको समापन गरिनेछ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ, द्वितीयलाई ६० हजार रुपैयाँ, तृतीयलाई ३५ हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने तीन जनालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितापछि नारच्याङमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ। रासस