आइतवार, श्रावण २४ गते २०८३

निर्वाचनको धक्कालाई क्षतिपूर्ती हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्छौं– एमाले उपाध्यक्ष विष्णु पौडेल

बुधवार , जेठ २०, २०८३

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गतवर्षको निर्वाचनमा धक्कालाई क्षतिपूर्ती हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताएका छन् ।


पार्टीले आजबाट सुरु गरेको सदस्यता नविकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताए । ‘गतवर्षको जेन जी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्योहोरेका छौं’ पौडेलले भने ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।’ उपाध्यक्ष पौडेलले जनतासँग टुटेको सम्बन्धलाई पुन जोड्नु पार्टीको मुख्य कार्यभार रहेको बताएका छन् ।


उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामुहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए । उनले पार्टी सदस्यता प्राप्ती तथा नविकरण केवल एउटा सदस्यता मात्र होइन त्यो एउटा राजनीति,बिचार र जिम्मेवारीको प्राप्तीको रुपमा पनि बुझ्नु पर्नेे बताए ।


सन् १९२० मा स्थापना भएको छिमेकी भारतीय कम्यूनिष्ट पार्टी र चीनमा सन् १९२१ मा स्थापना भएको चीनीया कम्यूनिष्ट पार्टीका कार्यशैलीले एउटा कम्यूनिष्ट पार्टी अत्यन्तै कमजोर भएको र अर्को कम्यूनिष्ट पार्टी विश्वकै शक्तिशाली हुँदै गएको बताए ।

‘भारतको कम्यूनिष्ट पार्टी इतिहासमै कमजोर भयो तर चीनको कम्यूनिष्ट पार्टी शताब्दीमा शक्तिशाली छ’ पौडेलले भने ‘नेपालले छिमेकका यी दुई ठुला देशका कम्यूनिष्ट पार्टीका कार्यशैलीबाट आफू कस्तो अवस्थामा पुग्ने भन्ने पनि शिक्षा लिनु पर्दछ । ’

प्रतिक्रिया
सम्बन्धित समाचार