काठमाडौं। घुस लिन नमानेका २४ ट्राफिक प्रहरी सम्मानित भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रम गरेर पुरस्कारसंगै सम्मान गरेको हो।
नगद पुरस्कृत तथा प्रशंसापत्रसहित सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठसहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव, प्रहरी जवानहरू किसान चन्द्र गौतम, धनवीर जि.सी. ,सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला छन्।
त्यस्तै, प्रहरी नायब निरीक्षक मिलन कुमार सिंह, प्रहरी हवल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजी साह, प्रविन मोक्तान, दधिराम बि.सी. त्यस्तै प्रहरी जवान हरि बहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुण बहादुर अधिकारी रहेका छन्।
प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरश: पालना गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको प्रलोभनमा नपरी काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरूलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए। गत आ.व.मा घुस दिई प्रलोभनमा १६६ जना चालक पक्राउ परेका थिए।