काठमाडौं । भारतको गोवामा चलिरहेको आठौं संस्करणको साफ महिला च्याम्पियनको सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग २(१ ले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल बन्यो ।
पण्डित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएर पनि जोगाउन सकेन । दुवै हाफको इन्जुरी टाइममा बंगलादेशले गोल गर्दै शानदार जित निकाल्यो । विगतमा जस्तै नेपालले उही गल्ती दोहोर्यायो अन्तिम समयमा सम्हालिन नसक्ने अनि सामान्य गोल बेहोर्ने ।
डिफेन्डर गीता रानाले २२औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफमै रितु पोर्ना चक्माको शानदार गोलमार्फत बंगलादेशले खेलमा पुनरागमन गर्यो । पहिलो हाफको इन्जुरी टाइममा रितुले कर्नरबाट सिधै ओलम्पिको गोल गरिन् । नेपालकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले त्यसलाई रोक्ने कुनै अवसर पाइनन् ।